काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शुक्रबार तीन खेलहरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एउटा खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
आज एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र मनाङ मस्र्याङ्दी क्लबबिच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । नयाँ प्रशिक्षकको आगमनपछि राहत महशुश गरेको मनाङले हिमालयन शेर्पासँग पहिलो लेगमा बराबरी खेल्दै अंक बाँडेको थियो ।
जारी लिगमा मनाङ १६ खेलबाट ५ जित, ५ बराबरी र ६ हारका साथ २० अंक जाेडेर आठौं स्थानमा रहेको छ । हिमालयन शेर्पा १६ खेलमा ५ जित, ५ बराबरी र ६ हारका साथ २० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
त्यस्तै, दशरथ रंगशालामा दिउँसो तीन बजे संकटा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । विदेशी खेलाडीको आगमनसँगै नतिजा निकाल्न सुरु गरेको विभागीय टोली पुलिसले आजको खेलमा संकटाविरुद्ध जित निकाल्दै रेलिगेशन जोन छाड्न सक्नेछ । खराब नतिजाबाट गुज्रिरहेको संकटालाई पनि रेलिगेशनकै डर रहेको छ ।
संकटा १६ खेलबाट ५ जित, ५ बराबरी र ६ हारका साथ २० अंक जोडेर दशौं स्थानमा रहेको छ । विभागीय पुलिस १६ खेलमा ४ जित, ४ बराबरी र ८ हारका साथ १६ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।
दशरथ रंगशालामा नै आज साँझ ६ बजे हुने अर्को खेलमा न्युरोड टिम एनआरटी र एफसी खुमलटार आमुने सामुने हुँदैछन् । रेलिगेशन जोनमा रहेको खुमलटार र एनआरटी दुवै टोलीलाई आजको खेल महत्वपुर्ण रहेको छ ।
एनआरटी १६ खेलबाट ४ जित, ६ बराबरी र ६ हारका साथ १८ अंक जोडेर १२ औं स्थानमा रहेको छ । खुमलटार १६ खेलमा ५ जित, २ बराबरी र ९ हारका साथ १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।