काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्सलाई हराउदै जावलाखेल शीर्षस्थानमा उक्लिएको छ । च्यासल फुटबल मैदानमा बिहिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४-१ गोल अन्तरले हराउँदै जावलाखेल युथ क्लब शीर्ष स्थान उक्लिएको हो ।
जावलाखेलको शानदार जितमा एनकोटो मासोआबीले २ तथा भारतीय डिफेन्डर राहुल राहुल र फोडे फोफानाले समान १/१ गोल गरेका थिए । फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले एक गोल फर्काएका थिए ।
खेलको २० अौं मिनेटमा अब्दुल अजिज निशानबाएभको कर्नरमा भारतीय डिफेन्डर राहुलले हेडरमार्फत गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए । २६ औं मिनेटमा अब्दुल अजिजकै पासमा एनकोटो मासोआबीले गोल गर्दै जावलाखेललाई २-० को अग्रता दिलाएका थिए ।
खेलको ६३ औं मिनेटमा मासोआबीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३-० ले अघि बढाएका थिए । पेनाल्टी क्षेत्रभित्र फ्रेन्ड्सका एन्जल महर्जनले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले जावलाखेललाई पेनाल्टी प्रदान गर्दा मासोआबी चुकेनन् ।
खेलको ८० अौं मिनेटमा श्याम बाबु क्यापछाकीले फ्रेन्ड्सका लागि सान्त्वना गोल फर्काएका थिए । त्यसपछि, इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मासोआबीको पासमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई ४-१ गोल अन्तरको फराकिलो जित दिलाएका थिए ।
शानदार जितसँगै उपाधि होडमा जावलाखेलले बलियो दाबेदारीता प्रस्तुत गरेको छ । जावलाखेल १७ खेलबाट ९ जित, ३ बराबरी र ५ हारका साथ ३० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित फ्रेन्ड्स अझैपनि रेलिगेशनको डरमा रहेको छ । फ्रेन्ड्स १७ खेलमा ५ जित, ४ बराबरी र ८ हारका साथ १९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।