काठमाडौं । आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ । साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको छ ।
नेपाल उमा कुङफु संघका महासचिव समेत रहेका गुरुङ जर्मनी भएको वल्र्ड मार्सल आर्ट्स गेम्स तथा इङल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दिपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव तथा मिनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए ।
शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रुपकाजी मगर र गुना गुरुङ सदस्यमा चयन भए । साधारण सभाले नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगरलाई संघको मुख्य प्रशिक्षकमा मनोनित गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बधाइ दिदै प्रमाण पत्र वितरण गरे । अध्यक्ष गुरुङले विशेष गरी परम्परागत खेलको जर्गेना तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघ स्थापना गरिएको बताए ।
गुरुङ र मगर इङल्यान्ड प्रस्थान
भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गरेका छन् । सेमिनार मे १३ र १४ तारिखमा इङल्यान्डको ब्रिडलिङटनमा हुनेछ । सेमिनारमा विभिन्न २७ राष्ट्रका ग्रान्ड मास्टर्सको सहभागिता रहने गुरुङले जानकारी गराए ।
भुपेन्द्र नेपाल उमा कुङफु संघका महासचिव हुन् भने मगर सोही संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक मुख्य प्रशिक्षक हुन् । दुवैले सेमिनारबाट हासिल गरेको ज्ञान अरुलाई सिकाएर व्यवहारमा उतार्ने बताए । उनीहरुलाई आदिवासी खेलकुद संघ नेपालका पदाधिकारीले एक कार्यक्रमबीच बिदाइ गरे ।