काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज युनाईटेड शीर्ष स्थान उक्लिएको हो ।
चर्च ब्वाइजको सानदार जितमा अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा सुशील शाहले एक गोल थपेका थिए । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काएका थिए । खेलको ४० औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा सुशील शाहले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा कमल श्रेष्ठकै कर्नरमा अन्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए । ६१ औं मिनेटमा सुशिल शाहको पासमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३-० ले अघि बढाएका थिए ।
खेलको ८५ औं मिनेटमा अन्जनले पेनाल्टी मार्फत ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४-० को अग्रता दिलाए । चर्च ब्वाइजका गगनदीप सिंहको प्रहारलाई एनआरटीका डिफेन्डर अजय चौधरीले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा अन्जन चुकेनन् । जारी लिगमा यो तेस्रो ह्याट्रिक हो । यसअघि मछिन्द्रका ओलावाले र खुमलटारका स्टेफनले ह्याट्रिक गरेका थिए ।
त्यसपछि, इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एनआरटीका दिपेश आलेमगरले सान्त्वना गोल फर्काएपनि चर्च ब्वाइज ४-१ ले विजयी भयो । जारी लिगमा शीर्ष स्थानमा उक्लिएको चर्च ब्वाइजको यो सातौं जित हो ।
जितसँगै चर्च ब्वाइज १५ खेलबाट ७ जित, ६ बराबरी र २ हारका साथ २७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । जारी लिगमा एनआरटीको यो छैटौं हार हो । पराजित एनआरटी १५ खेलमा ४ जित, ५ बराबरी र ६ हारका साथ १७ अंक जोडेर दशौं स्थानमा रहेको छ ।
