काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेलमाथि खुमलटारले सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लबलाई एफसी खुमलटारले ४-२ गोल अन्तरले हराएको हो ।
खुमलटारको सानदार जितमा क्यामरुनी फरवार्ड स्टेफन समिर विनोङले ह्याट्रिक पूरा गर्दा मेसुके ओलोमोउले एक गोल थपेका थिए । खुमलटारका रोहित सुब्बाले एक आत्मघाती गोल गरे । जावलाखेलका विनोद केसीले एक गोल फर्काएका थिए ।
खेलको १९ औं मिनेटमा मेसुकेको पासमा स्टेफनले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा एनकोटो मसोएबीको प्रहारमा खुमलटारका रोहित सुब्बाले आत्मघाती गोल गरेपछि जावलाखेल १-१ गोलको बराबरीमा पुग्यो ।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा राजीव लोप्चनको पासमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा मेसुकेको पासमा स्टेफनले ह्याट्रिक पूरा गर्दा खुमलटार ३-१ ले अघि बढ्यो । जारी लिगमा स्टेफन ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि मछिन्द्रका ओलावाले अफिजले खुमलटारविरुद्ध ह्याट्रिक गरेका थिए ।
इन्जुरी समयको दोस्रो मिनेटमा विपिन कँडेलले गोल गर्दै जावालाखेललाई ३-२ को स्थितिमा ल्याएका थिए । त्यसपछि, इन्जुरी समयको पाँचौं मिनेटमा स्टेफनको पासमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई ४-२ गोल अन्तरको सानदार जित दिलाएका थिए ।
जारी लिगमा खुमलटारको यो पाँचौं जित हो । जितसँगै खुमलटार १५ खेलबाट ५ जित, २ बराबरी र ८ हारका साथ १७ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ । जावलाखेलको यो पाँचौं हार हो । पराजित जावलाखेल १५ खेलमा ७ जित, ३ बराबरी र ५ हारका साथ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।