काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय पुलिससँग शीर्ष स्थानको जावलाखेल पराजित भएको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा मोसेस ग्याबाह र अहमद हिजाजीले समान एक/एक गोल गरेका थिए । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काएका थिए । खेलको ३५ औं मिनेटमा अजित भण्डारीको फ्रिकिकमा मोसेसले हेडरमार्फत गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८८ औं मिनेटमा मोहम्मद आशिकको पासमा हिजाजीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । त्यसपछि, खेलको ८९ औं मिनेटमा जावलाखेलका विपिन कँडेलले एक गोल फर्काएपनि विभागीय पुलिस २-१ ले विजयी भयो ।
जारी लिगमा पुलिसको यो चौंथो जित हो । यस जितसँगै पुलिस १४ खेलमा ४ जित, ३ बराबरी र ७ हारका साथ १५ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ । जारी लिगमा जावलाखेलको यो चौंथो हार हो । पराजित जावलाखेल १४ खेलमा ७ जित, ३ बराबरी र ४ हारका साथ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै, मंगलबारनै च्यासल मैदानमा भएको अर्को खेलमा थ्री स्टार क्लब र एफसी खुमलटारले २-२ गोलको बराबरी खेले । थ्री स्टारबाट लाकेन लिम्बू र आदित्य शाक्यले समान एक/एक गोल गरे । खुमलटारको तर्फबाट मेसुके ओलुमोउ र समिर विनोङले समान एक/एक गोल फर्काएका थिए ।
यस बराबरीसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्री स्टारको १४ खेलबाट ६ जित, ५ बराबरी र ३ हारका साथ २३ अंक पुगेको छ । बराबरीसँगै खुमलटार १४ खेलमा ४ जित, २ बराबरी र ८ हारका साथ १४ अंक जोडेर पुछारमै रहेको छ ।