काठमाडौं । ललितपुर मेयर कप खुल्ला महिला तथा पुरुष भलिबलको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल पुलिस क्लबले जितेका छन् । शनिबार ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा आर्मीले पुरुषतर्फ र पुलिसले महिला तर्फको उपाधि उचालेका हुन् ।
पुरुष स्पर्धाको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुलिसमाथि ३–२ को सेटमा जित निकाल्यो । आर्मीले पुलिसलाई २५–२०, २५–१७, २७–२९, १९–२५ र १५–७ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।
महिला स्पर्धामा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २५–११, १९–२५, २५–१९ र २५–२२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । उपाधिसँगै विजेता टिम आर्मी र पुलिसले ट्रफी सहित समान २/२ लाख रुपैयाँ प्राप्त गरे । उपविजेता बनेका पुलिस र एपीएफले समान १/१ लाख रुपैयाँ पाए ।
प्रतियोगितामा पुरुषतर्फ पुलिसका बिशाल बिके उत्कृष्ट स्पाइकर, पुलिसका द्धवारिका थापा उत्कृष्ट ब्लकर, एपीएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका इश्वर थापा उत्कृष्ट लिब्रो, आर्मीका हरी हजुरी थापा उत्कृष्ट सर्भर र आर्मीका जगत बहादुर भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । आर्मीका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
प्रतियोगितामा महिलातर्फ एपीएफकी आरती सुबेदी उत्कृष्ट स्पाइकर, न्यु डायमण्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जशोन्ना महतो उत्कृष्ट सेटर, पुलिस यमुना रसाईली उत्कृष्ट लिब्रो, आर्मीकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित बनेका थिए । पुलिसकी लक्ष्मी चन्द सर्वोत्कृष्ट खेलाडी चुनिइन् । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार र सर्वोकृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगिताको विजेता खेलाडी तथा टिमलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्काले पुरस्कृत गरेका थिए । ललितपुर महानगरको आयोजनामा वैशाख ९ गतेबाट सञ्चालित प्रतियोगितालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सञ्चालन गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।