काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन कप्तान प्रकाश बुढाथोकी, टोरिक जेब्रिन र राफिक एमिनुलेब समान १/१ गोल गरेका थिए । संकटाका लागि जुनियर एनकेनगुएनले एक गोल फर्काएका थिए ।
खेलको चौंथो मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा जुनियर एनकेनगुएनले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको २५ औं मिनेटमा टोरीक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि, खेलको इन्जुरी समयमा राफिक एमिनुलेबले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को जित दिलाएका थिए ।
जारी लिगमा फ्रेन्ड्सको यो तेस्रो जित हो । जितसँगै फ्रेन्ड्स १० खेलबाट ३ जित, २ बराबरी र ५ हारका साथ ११ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ । पराजित संकटा १० खेलमा ४ जित, ३ बराबरी र ३ हारका साथ १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
‘ए’ डिभिजन लिगमा बिहीबार दुई खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार क्लब र हिमायन शेर्पा क्लब आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज युनाईटेड र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।