काठमाडौं । राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले फराकिलो जित निकालेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले पुछारमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई ६-१ गोल अन्तरले हराएको हो ।
जावलाखेलको फराकिलो जितमा हिसुब थपलिया र एनकोटो मासोबीले समान २/२ गोल गरेका थिए । फोडे फोफाना र अब्दुलाजिज निशोन्बोएभले समान १/१ गोल गरे । पुलिसका मोसेस ग्याबाह टौमले एक गोल फर्काएका थिए ।
खेलको ३० औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । जावलाखेलका हिसुब थपलियाको कर्नरमा एनकोटो मासोबीको हेडरले गोललाइन क्रस गर्नै लाग्दा पुलिसका कप्तान रामचन्द्र वाजीले हातले बल रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसमै फोडे फोफानाले पेनाल्टीमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि, १० खेलाडीमा समेटिएको पुलिस निरिह बन्दै फराकिलो हार बेहोर्न पुगेको थियो । खेलको ५१ औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारेका थिए । ६५ औं मिनेटमा एनकोटो मासोबीले गोल गरेपछि जावलाखेलले ३-० को अग्रता बनाएको थियो ।
खेलको ८१ औं मिनेटमा एनकोटो मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४-० मा पुर्याएका थिए । ८४ औं मिनेटमा हिसुब थपलियाले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ५-० को फराकिलो अग्रता दिलाए ।
खेलको ८८ औं मिनेटमा मोसेसले सान्तोवना गोल गर्दै पुलिसलाई ५-१ को स्थितिमा ल्याएका थिए । त्यसपछि, खेलको इन्ज्युरी समयमा अब्दुलाजिजले गोल गर्दै जावलाखेललाई ६-१ गोल अन्तरको सानदार जित दिलाएका थिए ।
जारी लिगमा जावलाखेलको यो छैटौं जित हो । फराकिलो जितसँगै जावलाखेल १० खेलबाट ६ जित, २ बराबरी र २ हारका साथ २० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पुलिस १० खेलमा १ जित, २ बराबरी र ७ हारका साथ ५ अंक जोडेर पुछारमा रहेको छ ।