काठमाडौं । मनाङलाई हराउँदै जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ३-० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।
जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपेका थिए । जितसँगै जावलाखेलले नौ खेलबाट १७ अंक जोडेको छ । सातदोबाटोलाई एक अंकले पछि पार्दै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । पराजित मनाङ १५ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
खेलको चौंथो मिनेटमा मासोबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि, खेलको थपिएको दोस्रो मिनेटमा फोडे फोफानाले एक गोल गरे भने चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३-० को सानदार जित दिलाएका थिए ।
शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)सँग १–१ को बराबरी खेल्यो । खेलको ३९ औँ मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा एनआरटीका स्टेफन जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरीसँगै मच्छिन्द्रले नौ खेलबाट १३ अंक जोडेको छ । एनआरटीको आठ खेलबाट सात अंक रहेको छ ।
शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा खुमलटारले आर्मीलाई ३-२ गोल अन्तरले हराएको थियो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरेका थिए । कप्तान रेजिन सुब्बाले एक गोल थपे । आर्मीका नवयुग श्रेष्ठ र सुशान्त चौधरीले एक एक गोल फर्काएका थिए ।
खेलको सातौं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १८ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको २७ औं मिनेटमा मेसुके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा कप्तान रेजिन सुब्बाले गोल गर्दै खुमलटारलाई ३-१ को अग्रता दिलाएका थिए । त्यसपछि, खेलको ९० औं मिनेटमा आर्मीका सुशान्त चौधरीले गोल गरेपनि खुमलटार ३-२ गोल अन्तरले विजयी भएको थियो । जितसँगै खुमलटारले ९ खेलमा १० अंक जोडेर दशौं स्थानमा रहेको छ । पराजित आर्मी ९ खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज आइतबार नवौं चरणका दुई खेलहरु हुँदै छन् । आज एक खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुने छन् । च्यासल मैदानमा दिउँसो ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । संकटा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । एपीएफ ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल साँझ ६ बजे हुनेछ । सातदोबाटो आज पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । पुलिस आज दोस्रो जितको खोजीमा हुनेछ । पुलिस ४ अंक जोडेर पुछारमा रहेको छ ।