काठमाडौं । नेपालले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै अभ्यास खेलमा ओमानमाथि सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानमाथि ५ विकेटको जित हात पारेको हो ।
ओमानले जितको लागि दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर अर्जुन साउद, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेलेका थिए ।
ओपनर अर्जुन साउदले ८७ बलमा ६ चौका र ३ छक्कासहित ६७ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ६५ बलमा ५ चौका र २ छक्कासहित ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए । दीपेन्द्र सिंह ऐरी ५१ बलमा २ चौका र ३ छक्कासहित ५९ रनमा आउट भएका थिए ।
ओपनर देव खनाल १० रनमा रन आउट भएका थिए । ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भएका थिए । कुशल मल्ल ८ रनमा बोल्ड आउट भएका थिए । सन्दीप जोरा ११ र भीम सार्की १ रनमा अविजित रहेका थिए । ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट तथा जिसन मकसूदले १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले १ सय २३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको अवजित शतकीय इनिङ खेलेका थिए ।
ओपनर जतिन्दरसिंह ४२ बलमा ७ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । अर्का ओपनर कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए । मोहम्मद नदिमले २४ रन बनाएका थिए । नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २/२ विकेट लिएका थिए । श्याम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।
एसिसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । ओमानको यो दोश्रो अस्यास खेल हो । बिहीबार भएको पहिलो अभ्याास खेलमा ओमानले बहराइनलाई हराएको थियो ।
१० राष्ट्रको सहभागितामा हुने एसीसी पुरुष प्रिमियर लिग बैशाख ५ गतेबाट काठमाण्डौंको टीयु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबीया छ भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराईन रहेका छन् ।
नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । नेपालले वैशाख ११ गते मुलपानीमा साउदी अरेवियासँग खेल्नेछ । नेपालले वैशाख १४ गते कतारसँग टियुमा खेल्नेछ ।
प्रतियोगिगतामा प्रत्येक समूहका शिर्ष दुई टोलि सेमिफाईनमा पुग्नेछ भने फाईनल खेल बैशाख १८ गते हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।