काठमाडौं । आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । प्रतिष्ठानले ९ स्वर्ण, ४ रजत र ४ कांस्यसाग समग्रमा टिम च्याम्पियन बन्दै १५ हजार नगद पुरस्कार प्राप्त गर्यो । ६ स्वर्ण, ४ रजत र २ कांस्यसाथ लैनचौर दोश्रो भयो । तेश्रो स्थानको ढल्कुले ५ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्यो । लैनचौरले १० हजार तथा ढल्कुले ५ हजार नगद पुरस्कार पाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषमा चुनदेवीका सुशिल थापा मगर तथा महिलामा ढल्कुकी पासाङ तामाङ उत्कृष्ट खेलाडी घोषित भए । जुनियर पुरुषमा युन्सुबका सुजन ग्लान तथा महिलामा आयोजककी कृपा गौतम उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेत, आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा तेक्वान्दो खेलाडीहरु शिव श्रेष्ठ, खगेन्द्रप्रसाद पाण्डे, मनीषा मगर, कैलाश थापा, रोजिना तामाङ, निरजज्यू ठकुरी, कृपा गौतम, रोनिशा गौतम, रिवाज धमला, स्वेच्छा कार्की, सन्तोष भण्डारी, सिसम श्रेष्ठलगायत १७ खेलाडीलाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।