काठमाडौं । बालगोपाल महर्जनलाई सहिद स्मारक 'ए' डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बालगोपालले बुधबार जारी सिजनका लागि चर्च ब्वाइज टोलीको मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्ने गरि सम्झौता गरेका छन् ।
यसअघि, नेपाली मुलका अमेरिकन प्रदिप हुमागाईँलाई चर्च ब्वाइजले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर, वर्क परमिट नपाएपछि हुमागाईँले क्लब छाडेका थिए । 'बी' डिभिजन क्लबको च्याम्पियन बनेर पहिलो पटक शहीद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले जारी लिगको बीचमा बालगोपाललाई मुख्य प्रशिक्षक अनुबन्ध गरेको हो ।
बालगोपालको प्रशिक्षणमा नेपालले यू-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो भने सिनियर टिमबाट बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । यस्तै, दुई वर्षअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि पनि जितेको थियो । यस्तै, पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलमा काठमाडौं रेजर्सलाई पनि उनले उपाधि दिलाएका थिए ।
चर्च ब्वाइजले आठौं चरणमा बिहीबार साँझ दशरथ रंगशालामा फेन्ड्स क्लबको सामना गर्दा प्रशिक्षक बालगोपाल टच लाइनमा हुनेछन् । 'ए' डिभिजनको डेब्यु सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको चर्च ब्वाइज युनाईटेड ७ खेलमा ३ मा जित र ४ मा बराबरीबाट १३ अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।