काठमाडौं । फरवार्ड ओलावाले अफिजको ५ गोलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ । च्यासल मैदानमा मंगलबार भएको खेलमा मछिन्द्रले एफसी खुमलटारमाथि ७-३ गोल अन्तरको सानदार जित निकालेको हो ।
मछिन्द्रको फराकिलो जितमा ओलावाले अफिजलेले ५ गोल गरे । यस्तै, विमल घर्ति मगर र विजय भुजेलले एक/एक गोल थपेका थिए । खुमलटारका लागि मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काएका थिए ।
खेलको २४ औं मिनेटमा सुरज विकको लामो पासमा ओलावाले अफिजले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा चेन्चो ग्याल्सेनको पासमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा चेन्चोको प्रहार गोलरक्षक देव लिम्बुले जोगाएपनि फर्केर आएको बलमा विमलले गोल गर्दै मछिन्द्रको अग्रतालाई ३-० मा पुर्याए । दोस्रो हाफको ५६ औं मिनेटमा ओलावालेले पेनाल्टीमा ह्याट्रिक पूरा गर्दै मछिन्द्रको अग्रतालाई ४-० मा पुर्याएका थिए ।
विमल घर्ति मगरले गोलरक्षक देव लिम्बुलाई छक्याएर गरेको प्रहार पदम भट्टराईले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जारी लिगमा ओलावाले ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने । ओलावाले ८ गोल पूरा गर्दै लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।
खेलको ६१ औं मिनेटमा स्टेफन बिनोङको पासमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४-१ को स्थितिमा ल्याएका थिए । खेलको ६२ औं मिनेटमा पुजन उपरकोटीले मिडफिल्डबाट दिएको पासमा ओलावालेले चौंथो गोल गर्दै मछिन्द्रलाई ५-१ को अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा आन्द्रेस नियाको पासमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गर्दै मछिन्द्रलाई ६-१ ले अघि बढाएका थिए । खेलको ७६ औं मिनेटमा पेनाल्टीमा स्टेफेन विनोङले गोल गर्दै खेल ६–२ को स्थितिमा पुर्याएका थिए । मछिन्द्रका डिफेन्डर दिवाकर चौधरीले खुमलटारका कप्तान रेविन सुब्बालाई पेनाल्टी एरियामा फल गरेपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ८० औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६-३ को स्थितिमा ल्याएका थिए । त्यसपछि, खेलको ८७ औं मिनेटमा विजय भुजेलले गोल गर्दै मछिन्द्रलाई ७-३ को फराकिलो जित दिलाएका थिए ।
यस जितसँगै मच्छिन्द्र ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । खुमलटारको यो पाँचौं हार हो । पराजित खुमलटार ८ खेलमा ७ अंकका साथ दशौं स्थानमा रहेको छ ।