काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटालाई हराउँदै दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
किशोर केसीलाई प्रशिक्षक नियुक्त गरेकै दिन मच्छिन्द्रले लिगमा दोस्रो जित निकालेको छ । मछिन्द्रको जितमा फरवार्ड विमल घर्ति मगर र आफिज ओलावालेले एक/एक गोल गरेका थिए । यस्तै, संकटाका लागि मनिष डाँगीले एक गोल फर्काएका थिए ।
खेलको २० औं मिनेटमा विमलको गोलबाट मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् खेलको २२ औं मिनेटमा आयुषले दिएको पासमा मनिष डाँगीले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै, खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २-१ को स्थितीमा लगेका थिए । खेलको ७० औं मिनेटमा विमलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक टिकेन्द्रले मुस्किलले बचाएका थिए ।
दोस्रो हाफमा थप गरिएको समयमा मछिन्द्रका छिरिङ गुरुङ आफ्नै खेलाडीसँग ठोक्किन पुग्दा अचेत अवस्थामा पुगेका थिए । उनलाई होस फर्किएपछि थप उपचारका लागि अस्पताल लागिएको थियो ।
त्यसपछि, खेलमा थप गोल हुन नसक्दा मच्छिन्द्रले २-१ को जित दर्ता गरेको हो । दोस्रो जितसँगै ७ खेलमा ९ अंक जोड्दै साविक विजेता मछिन्द्र सातौं स्थानमा उक्लिएको छ । दोस्रो हार ब्यहोरेको संकटा ७ खेलमा ९ अंकका साथ आठौं स्थानमा झरेको छ ।