काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ । बिहीबार च्यासल मैदानमा भएको खेलमा थ्री स्टारले विभागीय टोली आर्मीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । कप्तान विक्रम लामाको पासमा मार्टिन्सले खेलको १७ औं मिनेटमा गोल गरेका थिए । मार्टिन्सको जारी लिगमा यो चौथो गोल हो । त्यसपछि, प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले प्रयास गरेपनि गोल गर्न भने सकेनन् ।
एक गोलको अग्रता लिएको थ्री स्टारले त्यसलाई जोगाउँदै महत्वपूर्ण ३ अंक जोडन सफल भयो । जारी लिगको ६ खेलमा तेस्रो जितनिकालेपछ थ्रीस्टार १० अंकका साथ छैटौं स्थानमा उक्लेको छ । जारी लिगमा दोस्रो हार बेहोरेको आर्मी ६ खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ ।
साविक विजेता मछिन्द्र र हिमालयन शेर्पाको बराबरी
त्यस्तै बिहीवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।
खेलको ८६ औं मिनेटमा सत्यम शर्माले पेनाल्टीमार्फत गोल गर्दै शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।
तर, खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि साविक विजेता मछिन्द्र हारबाट जोगिएको थियो । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोडेको छ । मछिन्द्रले ६ खेलमा ६ अंक जोडेको छ । जारी लिगमा दुवै टोलीले १ जित, ३ बराबरी र २ हारको नतिजा निकालेका छन् ।