काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल युथ क्लब शीर्ष स्थानमा उक्लिएको हो ।
जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो साइनोस मसोआबीले समान एक/एक गोल गरे । पाँचौ चरणसम्म शीर्ष स्थानमा रहेको सातदोबाटोका लागि एक मात्र गोल दीपक सिंह ठकुरीले फर्काएका थिए ।
खेलको ४३ औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको जावलाखेलले दोस्रो हाफको सुरुवाती पाँच मिनेटमा नै अग्रतालाई दोब्बर बनायो । साइनोस मसोआबीले ५० औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि, खेलको ७५ औं मिनेटमा सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काएपनि जावलाखेल २-१ ले विजयी भयो । जितसँगै जावलाखेल ६ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो भने १२ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
चर्च ब्वाइज युनाईटेडलाई एनआरटीले बराबरीमा रोक्यो
मंगलवार नै च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई न्युरोड टिम एनआरटीले २-२ गोलको बराबरीमा रोकेको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाईजले शुरुवाती अग्रता लिएपनि जोगाउन असफल रहेको थियो ।
खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाएका थिए ।
तर, खेलको ७१ औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २-१ को स्थितिमा ल्याएका थिए । त्यसपछि, खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २–२ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाएका थिए ।
बराबरीपछि पनि चर्च ब्वाइज युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइजको ६ खेलबाट १२ अंक भएको छ । बराबरीपछि एनआरटी भने ६ खेलबाट ३ अंकसहित पुछारबाट दोस्रो हुदै १३ औं स्थानमा रहेको छ ।