काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एनएनआईपीए स्पोर्ट्स अवार्ड आयोजनाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरी सोमबार अयोाजना हुने कार्यक्रमबारे जानकारी गराएको हो ।
संघका महासचिव शिवसुन्दर गोथेले अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । अवार्ड कार्यक्रम चैत २० गते सोमबार ठमेलस्थित अल्फ्ट होटलमा हुनेछ । संघले हरेक वर्ष नेपाल ओलम्पिक संघबाट आधिकारिकता पाएका विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्रोत्साहनका लागि अवार्ड प्रदान गर्दै आएको छ । यसपटक पनि ६ विधामा उत्कृष्ट हुने खेलाडी तथा पदाधिकारीलाई पुरस्कृत गर्ने संघले बताएको छ ।
यस पटक फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबल टेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, स्विमिङ, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, र्याफ्टिङ, भलिबल, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् ।
यस वर्ष २७ खेलमध्येका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप जनही १० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट हुने महिला र पुरुष खेलाडीले जनही एक लाख नगद पाउने छन् । प्रतिभाशाली महिला र पुरुष खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ । अघिल्लो वर्ष गरेको प्रदर्शनलाई आधार मानेर खेलाडी छनोट गरिने जनाइएको छ ।
एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ । एक खेलपत्रकारले एनएनआईपीए खेल पत्रकारीता पुरस्कार स्वरुप २५ हजार प्राप्त गर्नेछन् । एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई सम्मान पुरस्कार स्वरुप १५ हजार प्रदान गरिनेछ ।