काठमाडौं । ललितपुर मेयर्स कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिममाथि सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमवार भएको खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
यो सानदार जितसँगै कोशीले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना मजबुत बनाएको छ । मंगलबार कोशी र मधेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा कोशी विजयी भएमा फाइनलमा पुग्नेछ । तर, पराजित भएमा तीन टोलीको समान ४ अंक हुँदा नेटरनरेटमा सुदूरपश्चिम फाइनलमा पुग्नेछ ।
सुदूरपश्चिमले जितको लागि दिएको ८३ रनको लक्ष्य कोशीले १५.३ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्यो । कोशीको जितमा काजोल श्रेष्ठ ५० बलमा ५ चौकासहित ४० रनमा अविजित रहिन् । कप्तान रुविना क्षेत्रीले ४१ बलमा २ चौकासहित २८ रन बनाइन् ।
पहिलो विकेटका लागि काजोल र रुविनाले १३.४ ओभरमा ७३ रनको साझेदारी गर्दै कोशीलाई सहज जित नजिक पुर्याएका थिए । अप्सरी बेगम ४ बलमा १ चौकासहित ४ रनमा अविजित रहिन् । सुदूरपश्चिमको लागि कविता जोशीले एक विकेट लिइन् ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १८.५ ओभरमा अलआउट हुदै ८२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान बिन्दु रावलले ४५ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाईन् । सम्झना खड्काले १६ तथा रितु कनोजियाले १३ रन बनाईन् ।
सुदूरपश्चिमका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर कविता कुँवर ९ रनमा र रुबी पोदार ४ रनमा आउट भईन् । कविता जोशी, लक्ष्मी साउद, एसोदा विष्ट, रेवती धामी र मनिषा चौधरीले खाता खोल्न सकेनन् । सुदूरपश्चिमले पछिल्लो १६ बलमा २ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।
कोशीको लागि कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिइन् । अप्सरी बेगमले २.५ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । ज्योति दनवारले एक विकेट लिइन् । कोशीका अलराउन्डर कप्तान रुविना क्षेत्री खेलको ‘प्लेयर अफ द म्याच’ भइन् ।