काठमाडौं । ललितपुर मेयर्स कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले ललितपुरमाथि एक विकेटको रोमान्चक जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमवार भएको खेलमा मधेशले पहिलो जित हात पार्दा आयोजक ललितपुर मेयर्स–११ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुर मेयर्स–११ले जितको लागि दिएको ९७ रनको विजयी लक्ष्य पछ्याएको मधेशले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । मधेशलाई जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । पहिलो बलमा दुई रन लिनेक्रममा चांदनी खातुनलाई रन आउट गर्न ललितपुर चुकेको थियो । दोस्रो बलमा सरस्वती चौधरीले डिप मिडविकेटमा सृष्टि जैशीलाई चौका प्रहार गर्दै खेल सकाइन् ।
मधेशका लागि सरस्वती ३३ बलमा ३ चौकासहित सर्वाधिक ३२ रनमा अविजित रहिन् । ओपनर एलिसा यादव २० बलमा ३ चौकासहित १६ रनमा र सिमा कुँवर १२ बलमा १ चौकासहित १५ रनमा आउट भइन् । मधेशका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
ललितपुरका लागि कृतिका मरासिनीले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । सोनी पाख्रिन ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले समान १/१ विकेट लिईन् ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो । ललितपुरका लागि सोनी पाख्रिनले ४३ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाइन् ।
विकेटकिपर लक्ष्मी चौधरी २७ बलमा ४ चौकासहित २३ तथा सृष्टी जैशी १८ बलमा १ चौकासहित १५ रनमा आउट भइन् । हेलिसा गुरुङ १, कन्चन श्रेष्ठ ५ रनमा आउट हुँदा कप्तान अस्मिना कर्माचार्य ६ रनमा अविजित रहिन् ।
मधेशका लागि सरस्वती चौधरीले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले समान १/१ विकेट लिईन् । मधेशका अलराउन्डर सरस्वती चौधरी खेलको ‘प्लेयर अफ द म्याच’ भइन् ।
यस जितसँगै मधेशले पहिलो जितका साथ चौथो स्थानमा रहँदा कमजोर रुपमा फाइनल सम्भावना झिनो रुपमा कायमै रहेको छ । आयोजक ललितपुर ३ खेलमा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । साबिक बिजेता एपिएफ ३ खेलमा ६ अंकका साथ फाइनलमा पुगेको छ । प्रतियोगिताको फाइनल खेल चैत १६ मा हुनेछ ।