काठमाडौं । ललितपुर मेयर्स कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साबिक बिजेता नेपाल एपीएफ क्लब एक खेल अगाबै तेस्रो पटक फाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
कोशीले जितको लागि दिएको ८८ रनको लक्ष्य पछ्याएको एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा ममता चौधरी २८ बलमा १ चौकासहित २१ रनमा अविजित रहिन् । रोमा थापा २२ बलमा १ चौकासहित ११ रनमा अविजित रहिन् ।
कप्तान सीता राना मगरले २० बलमा ३ चौकासहित १९ रन बनाउँदा इन्दु बर्माले २९ बलमा २ चौकासहित १८ रन बनाईन् । ज्योति पाण्डे १० बलमा २ चौकासहित ११ रनमा आउट भइन् । कोशीका लागि कप्तान रुबिना क्षेत्री, अलिशा खडिया र निशा साहले समान १/१ विकेट लिईन् ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । कोशीका लागि ओपनर काजोल श्रेष्ठले ४१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाइन् ।
कप्तान रुबिना क्षेत्रीले ३४ बलमा ५ चौकासहित २४ रनमा बोल्ड आउट भइन् । अप्सरी बेगमले ३६ बलमा २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफका लागि सीताले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । इन्दु बर्माले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् ।
एपिएफकी अलराउन्डर कप्तान सीता राना मगर लगातार तीन खेलमा खेलको ‘प्लेयर अफ द म्याच’ भइन् । जितसँगै एपिएफले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । एपिएफले पहिलो खेलमा मधेशलाई १० विकेट र दोस्रो खेलमा सुदूरपश्चिमलाई १५ रनले हराएको थियो ।
एपिएफले समूह चरणको अन्तिम खेल मंगलबार ललितपुर-११ सँग खेल्नेछ । कोशीले सोमबार सुदूरपश्चिमसँग खेल्नेछ । पराजित कोशी प्रदेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । ललितपुर मेयर्स-११ र मधेश प्रदेश समान दुई खेल खेलेपनि जित विहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् ।