काठमाडौं । ललितपुर मेयर्स कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित हात पारेको हो । मधेश प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।
जितका लागि मधेशले दिएको ६५ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा अलराउन्डर ऋतु कनोजिया २७ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । रुबी पोदार ११ बलमा २ चौकासहित १४ रनमा अविजित रहिन् ।
ओपनर कविता कुँवर एक रनमा क्याच आउट भइन् । विन्दु रावल १० रनमा र सम्झना खड्का ९ रनमा आउट भइन् । मधेशका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङको रोजेको मधेश प्रदेश १९ ओभरमा ६५ रनमा अल आउट भयो । मधेशका लागि अलिसा यादव र सरस्वती चौधरीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । ऋतु कनोजियाले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन् । सम्झना खड्काले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । कविता जोशी र इश्वरी विष्टले एक एक विकेट लिइन् । अलराउन्डर ऋतु कनोजिया खेलको ‘प्लेयर अफ द म्याच’ भइन् ।
यस जितसँगै सुदूरपश्चिम ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । दुबै खेलमा हारसहित अंक विहीन मधेश पुछारमा रहेको छ । एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । मधेशले सोमबार ललितपुर मेयर्स ११ सँग खेल्नेछ । सुदूरपश्चिम प्रदेशले सोमबार प्रदेश एकसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । चैत १६ गते सम्पन्न हुने प्रतियोगितामा प्रधामन्त्री कपका चार सेमिफाइनल टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेशसँगै आयोजक ललितपुर मेयर्स-११ छन् ।