काठमाडौं । ललितपुर मेयर्स कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सानदार विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा कोशीले ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको हो ।
ललितपुर मेयर्स ११ ले जितको लागि दिएको ६६ रनको सामान्य लक्ष्य पछ्याएको कोशीले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । कोशीको जितमा अप्सरी बेगम ३२ बलमा ४ चौकासहित २९ रनमा अविजित रहिन् । लखिता राजवंशी १ रनमा अविजित रहिन् ।
इनिङको पहिलो बलमै कप्तान अश्मिना कर्माचार्यले ओपनर काजल श्रेष्ठलाई शून्यमा एलबीडब्लू आउट गरेकी थिइन् । कप्तान रुबिना क्षेत्रीले १८ बलमा २ चौका सहित १३ रन बनाईन् । ललितपुरका लागि अश्मिना कर्माचार्यले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । कृतिका मरासिनीले २ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले १६ ओभर ५ बलमा अलआउट हुदै ६५ रन बनाएको थियो । ललितपुरका लागि लक्ष्मी चौधरीले ३२ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाउँदा ११ औं नम्बरकी ब्याटर मनिषा उपाध्यय ८ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
कोशीको लागि निशा शाहले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । अप्सरी बेगमले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । सबनम राई र एलिसा खडियाले एक एक विकेट लिइन् । निशा शाह खेलको ‘प्लेयर अफ द म्याच’ भइन् ।
आफ्नो पहिलो खेलमा जित हात पारेको कोशी प्रदेश २ अंकका साथ तालिका तेस्रो स्थानमा रहेको छ । लगातार दुई खेलमा पराजित ललितपुर मेयर्स ११ अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ । एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । चैत १६ गते सम्पन्न हुने प्रतियोगितामा प्रधामन्त्री कपका चार सेमिफाइनल टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेशसँगै आयोजक ललितपुर मेयर्स-११ छन् । शनिबार मधेशले सुदूरपश्चिमसँग खेल्नेछ । कोशीले नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।