काठमाडौं । ललितपुर मेयर्स कप महिला टि-२० क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले सानदार विजयी सुरुआत गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहिवार भएको खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले र सुदूरपश्चिमले ललितपुर मेयर्स-११लाई ५१ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
मधेश प्रदेशले जितको लागि दिएको ५९ रनको सामान्य लक्ष्य एपीएफले ७.३ ओभरमा बिना विकेटको क्षतिमा ६१ रन बनाएर पुरा गर्यो । एपीएफको जितमा कप्तान सीता राना मगरले ४५ तथा ज्योती पाण्डेले ८ रन बनाएर अविजित रहिन् । कप्तान सीता राना मगर खेलको ‘प्लेयर अफ द म्याच’ भइन् ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मधेशले १९ ओभर ४ बलमा अलआउट हुदै ५८ रन बनायो । मधेशका साना प्रविनले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि सोनु खड्काले ४ र सीता राना ३ विकेट लिईन् । रेखा रावल, नेरी थापा र इन्दु बर्माले एक एक विकेट लिए ।
यसअघि, आजै भएको पहिलो उद्घाटन खेलमा सुदूरपश्चिमले जितको लागि दिएको १ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको ललितपुर मेयर्स-११ले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो ।
ललितपुरका लागि लक्ष्मी चौधरीले २५ तथा हेलिसा गुरुङले १९ र नकञ्चन श्रेष्ठले १६ रन बनाइन् भने अन्य ब्याटरले दोहारो अंक छुन सकेनन् । सुदूरपश्चिम प्रदेशका लागि रितु कौनोजियाले २ विकेट लिईन् । ललितपुरका पाँच ब्याटरहरु रन आउट भएका थिए ।
त्यसअघि, सुदूरपश्चिमका लागि तेस्रो क्रमकी सम्झना खड्काले अविजित ५१ रन बनाइन् । उनले ४५ बलमा ६ चौका प्रहार गरेकी हुन् । ओपनर रुवी पोदारले ३३ बलमा ४ चौका सहति २८ रन बनाइन् । कविता जोशी २८ बलमा २ चौका र १ छक्का सहित २७ रनमा अविजित रहिन् । ललितपुरका लागि कृतिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिईन् । सम्झना खड्का खेलको ‘प्लेयर अफ द म्याच’ भइन् ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । चैत १६ गते सम्पन्न हुने प्रतियोगितामा प्रधामन्त्री कपका चार सेमिफाइनल टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेशसँगै आयोजक ललितपुर मेयर्स-११ छन् । शुक्रबार सुदूरपश्चिमले पहिलो खेलमा एपिएफसँग खेल्नेछ । ललितपुर मेयर्स-११ले कोशी प्रदेशसँग खेल्नेछ ।