काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा सोझै छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । शुक्रवार बिहान विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
बिहीबार प्रधानमन्त्री प्रचण्ड आफैँ कीर्तिपुर क्रिकेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहित गरेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई ९ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, 'मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।'
प्रधानमन्त्री प्रचण्डले यसअघि पनि सरकारले जनही दुई लाख राशिले पुरस्कृत गरिसकिएको उल्लेख गरे । आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु । प्रधानमन्त्रीले भने 'विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईहरूको सुखदुखमा साथमै हुनेछु ।'
कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान निर्देशन
'कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु' प्रधानमन्त्रीले भने, 'यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।'
प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाए । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।