काठमाडौं । चौथो एसियाली खो खो च्याम्पियनसिपमा सहभागी हुन २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली खो खो टोली शुक्रबार भारतको आसामस्थित गुवाहटी प्रस्थान गर्ने भएको छ ।
मार्च २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला टोलीले सहभागिता जनाउने छ । पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरलसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट रहेका छन् ।
महिलामा सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी छन् ।
प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।