काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार १० खेलाडीमा समेटिएको एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सुदपयोग गर्न सकेनन् । १० खेलाडीमा समेटिएकाे विभागीय टोली एपिएफविरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेलले एक अंकमा चित्त बुझायो ।
खेलको ६९ औं मिनेटमा एडमा डोम्बियाले जावलाखेलका हिसुब थपलियालाई लडाएपछि पहिलो कार्ड प्राप्त गरे । तर, पहेलो कार्डपछि रेफ्रीसँग अभद्र व्यवहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड देखाउदै उनलाई मैदान बाहिर पठाएका थिए ।
यस बराबरीसँगै जावलाखेलले शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । बराबरीसँगै अपराजित जावलाखेलको ३ खेलबाट ७ अंक पुगेको छ । यसअघि जावलाखेलले पहिलो खेलमा साबिक विजेता मछिन्द्रलाई ३–१ ले तथा एनआरटीलाई २–१ ले पराजित गरेको थियो ।
यस बराबरीसँगै एपिएफको ३ खेलबाट ४ अंक पुगेको छ । यसअघि थ्री स्टार क्लबलाई २-० ले पराजित गरेको एपिएफले सातदोबाटो युथ क्लबसँग १-० को हार ब्यहोरेको थियो ।
पुलिसलाई हराउँदै संकटाको पहिलो जित
त्यस्तै, शनिबार नै च्यासल रंगशालामा भएको अर्को खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको छ । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा गणेशले. ८० औं मिनेटमा रोशनले त्यसपछि ८६ औं मिनेटमा सुरजले गोल गर्दा संकटा ३-० ले विजयी भयो ।
जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । संकटाको यो पहिलो जित हो । यसअघि संकटाले पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । पुलिसको भने यो लगातार तेस्रो हार हो । पुलिस पहिलो खेलमा चर्च ब्वाइजसँग २–१ ले तथा दोस्रो खखेलमा हिमालयन शेर्पासँग १–० ले पराजित भएको थियो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।