काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पिन मछिन्द्र जावलाखेल सँग पहिलो खेलमा नै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्र फुटबल क्लव जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
जावलाखेललाई जित दिलाउन हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक/एक गोल गरेका थिए । मछिन्द्रका देवेन्द्र तामाङको गोल सान्त्वना बन्यो । जितसँगै जावलाखेलले पहिलो खेलमा ३ अंक जोड्दा डिफेन्डिङ च्याम्पिन मछिन्द्रले भने हारबाट लिगको सुरुआत गरेको छ ।
खेलको २३ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । जावलाखेलका विशाल तामाङले ह्यान्डबल गरेपछि पाएको फ्रिकिकमा देवेन्द्रले उत्कृष्ट गोल गरेका थिए ।
तर, खेलको ५९ औं मिनेटमा फोडे फोफानाको पासमा हिसुब थपलियाले उत्कृष्ट गोल जावलाखेललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६४ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाएका थिए ।
त्यसपछि, खेलको ७६ औं मिनेटमा हिसुब थपलियाको फ्रिकिकमा सिमान्त थापाले हेडरमार्फत गोल गर्दै जावलाखेललाई ३-१ को पूनरागमन जित दिलाए । पराजित मछिन्द्रले गत वर्ष १३ खेलमा ११ जित र २ बराबरीसहित अपराजित रहेर केवल दुई गोल खाँदै लिग च्याम्पियन बन्न सफल भएको थियो ।
एनआरटीलाई हराउँदै सातदोबाटोको विजयी सुरुआत
त्यस्तै, आजै च्यासल रंगशालामा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको छ ।सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काएका थिए ।
खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि, खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।
जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । योसँगै शुक्रबारदेखि शुरु भएको सहिद स्मारक ’ए’ डिभिजन लिगमा पहिलो चरणका खेलहरु सकिएका छन् । अब दोस्रो चरणका खेलहरु मंगलबारदेखि शुरु हुने छन् ।