काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन भोलि (बुधबार)बाट हिमालयन गल्फ कोर्समा सुरू हुदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औं संस्करण हो ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिने छन् ।
दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन् । शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ । जहाँ देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्न आतुर रहने छन् ।
विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहेने खेलाडीले पनि नगद हात पार्नेछन् ।
नेपाल नम्बर एक व्यवसायिक खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार हुन् ।
सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यो प्रतियोगिताबाट प्रोफेसनल करियरको यात्रा सुरू गर्दैछन् । यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ वरीयता अन्तर्गत रहेको छ र एमेच्योर खेलाडीले आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अङ्क प्राप्त गर्न सक्नेछन् ।
देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि हिमालयन गल्फ कोर्सलाई परिमार्जित गर्दै कठिन बनाइएको छ । ६९ पारको १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दोर्याएर खेल्नु पनि चुनौतीपुर्ण रहनेछ । जसले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । विश्व प्रसिद्ध म्यागेजिन, गल्फ डाइजेस्टले यो कोर्सलाई विश्वको सबैभन्दा साहसिक मध्येको एक गल्फ कोर्सको रूपमा मूल्याङ्कन गरेको छ ।