काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धन बहादुर थापा शीर्ष स्थानमा उक्लिएका छन् । बुधबार ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-अडर १ सय ३३ मा शीर्षस्थानमा उक्लिएका हुन् ।
उनले भुवन कुमार रोक्का र रबि खड्कालाई १ स्ट्रोकले पछि पारे। भुवन र रबि समग्रमा २ अन्डर १ सय ३४ को स्कोरमा दोस्रो स्थानमा छन् । भुवन १-अन्डर ६७ को स्कोरमा दोस्रो स्थानमा उक्लदा पहिलो दिनका लिडर रबि ३-ओभर ७१ को खराब प्रदर्शनमा दोस्रो स्थानमा तल झरेका हुन् ।
एमेच्योरद्वय सदभाव आचार्य र सुबाश तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतिले समग्रमा १-अन्डर १ सय ३५ सहित संयुक्तरुपमा चौथो स्थान बाँडे । राष्ट्रिय टिमका सदभावले २-अन्डर ६६ र नेपाल नम्बर एक एमेच्योेर खेलाडी सुबाश तामाङले इभन-पार ६८ मा दोस्रो दिनको खेल सकाए । यसैगरी दीपकले १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ को कार्ड तयार पारे ।
पहिलो दिन तेस्रो स्थानमा रहेका भुवन नगरकोटीले आज २-ओभर ७० को स्कोरमा खेल सकाउँदा समग्रमा इभन-पार १ सय ३६ सहित आठौं स्थानमा तल झरे । ४-ओभर १ सय ४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्तरुपमा नवौं स्थानमा रहेका छन् । दुवैले आज ३-ओभर ७१ मा खेल सकाए ।
सुर्य प्रसाद शर्मा र रामे मगर समग्रमा ५-ओभर १ सय ४१ सहित संयुक्तरुपमा ११औं स्थानमा रहेका छन्। ३६ होलको समाप्तीमा १५-ओभर १ सय ५१ सम्म स्कोर गर्ने सञ्जय लामा, टंक बहादुर कार्की, रमेश अधिकारी, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, प्रभातकुमार राजबाहक, राजेन्द्र श्रेष्ठ प्रधान, सञ्जोक मोक्तान, बसन्तराज गुरुङ र कृष्णमान राजबाहकले कट बनाएका छन् । यस्तै एमेच्योर खेलाडी टासी छिरिङ, सुरेश तामाङ र निश्चयजङ्ग रायमाझीले पनि कट बनाएका छन् ।
धनको पहिलो नौ होलको खेल नाटकीय बन्यो। पहिलो होलमा इगलको सफलता प्राप्त गरे । दोस्रो होलमा बोगी प्रहार गर्दा पाँचौं होलमा डबल बोगीको सामना गरे । यसपछि सातौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि उनले ५-पारको दशौं होलमा दिनको दोस्रो इगल प्रहार गरे भने १७औं होलमा एक सट बचाएर ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे ।
भुवन कुमार रोक्काले फ्रन्ट २-अन्डर ३२ मा पुरा गर्ने क्रममा पहिलो होलमा एक सट बचाए । तर तेस्रो होलमा डबल बोगी खेपे। लगत्तै चौथो होलमा इगल र पाँचौ होलमा बर्डी प्रहार गरे । यसपछि १०औं होलमा बर्डी गरेपनि १७औं होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए ।
पहिलो दिनका लिडर रबिले आज एकरूपताको प्रदर्शन गर्न सकेनन् । पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे । तेस्रो र नवौं होलमा एक-एक सट खेर फाले । ब्याक नाइनको सुरूवात इगलबाट गरे । तर यसपछि लय गुमाउँदा ११औं, १२औं र १८औं होलमा बोगी मात्र खेपेनन् ५-पारको १३औं होलमा ट्रीपल बोगीको सामना गरे । ब्याक नाइन ४-ओभर ३८ मा सकाए । यही प्रदर्शनमा उनले शीर्षस्थान जोगाउन सकेनन् ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगितामा विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्ने व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।