काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वुल्भरह्याम्पटनसँग लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्ससँग ३–० को लज्जास्पद हार व्यहोरेको हो ।
खेलको पाँचौं मिनेटमा लिभरपुलका रक्षक जो माटिपले आत्मघाती गोल गरेपछि वुल्भरह्याम्प्टनले अग्रता बनाएको थियो । ही चान ह्वाङले रगेको क्रस मटिपलाई लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको १२ औं मिनेटमा क्रेग डसनले गोल गर्दै वुल्भरह्याम्प्टनको अग्रता दोब्बर पारे । डासनको यो डेब्यु खेल थियो । उनी वेस्ट ह्याम युनाइटेडबाट जनवरीमा वुल्भरह्याम्प्टनसँग अनुबन्ध भएका हुन् । त्यसपछि, खेलको ७१ औं मिनेटमा नेभेसले गोल गर्दै वुल्भरह्याम्प्टनलाई ३–० को जित दिलाएका थिए ।
लिग सुरु हुनुअघि उपाधिको बलियो दाबेदार मानिएको लिभरपुल पछिल्लो समय लगातार हार व्यहोर्न बाध्य बन्दै आएको छ । जितसँगै वुल्भरह्याम्प्टन २१ खेलबाट २० अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २९ अंक जोडेर १० औं स्थानमा यथावत् रहेको छ ।
गए राति इंग्लिस प्रिमियर लिगको खेलमा एभर्टनले शीर्ष स्थानको आर्सनललाई १–० ले हरायो । एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै एभर्टन १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ । यस हारसँगै आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रिमियर लिगका अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ ले पराजित गरेको छ । यसैगरी, ब्रेन्टफोर्डले साउथह्याम्प्टनलाई ३–० ले पराजित गर्दा ब्राइटनले बर्नमाउथलाई १–० ले हरायो । वेष्ट ह्याम युनाइटेड र न्युकासल युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् ।