काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । ढाकाको कमलापुरस्थित बीएसएसएस माेस्ताफा कमल रंगाशालामा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु टिम बंगलादेशलाई जित दिलाउन अक्लिमा खातुन, कप्तान सामसुनहर, सहिदा अख्तर रिपाले एक/एक गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काएकी थिइन् ।
खेलकाे तेस्रो मिनेटमै अक्लिमा खातुनले गाेल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिईन् । १३ औँ मिनेटमा कप्तान सामसुनहरले गोल गर्दै घरेलु टोली बंगलादेशको अग्रता दोब्बर पारिन् ।
दुई गाेलले पछि परेकाे नेपालले पहिलाे हाफमै खेलमा फर्कने प्रयास गर्यो । खेलकाे २४ औँ मिनेटमा मनमाया दमाईले गोल गर्दै अग्रतालाई २-१ मा झारेकी थिइन् । तर, इन्जुरी समयमा सहिदा अख्तर रिपाले गोल गरेपछि बंगलादेशले ३-१ को जित पक्का गर्यो ।
जितसँगै बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । च्याम्पियनसिपको शुक्रबार नै भएको पहिलो खेलमा भारतले भुटानलाई १२-० गोल अन्तरले हराएको थियो । भारतले पहिलो खेलमै ३ अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र आयोजक बंगलादेश गरी चार टिमको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।