काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै बार्सिलोनाले ला लिगामा ८ अंकको अग्रता बनाएको छ ।
स्टेडियो बेनिटो भिल्लामार सेभिल्लामा पाहुना टोली बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक/एक गोल गरे । बार्सिलोना कै रक्षक जुल्स कुन्डेले आत्मघाती गोल गर्दा रियल बेटिसले सान्त्वना गोल उपहारमा पाएको थियो ।
खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उसमाने डेमबेले चोटका कारण मैदाम बाहिर भएको कारण सुरुवाती ११ मा स्थान पाएका ब्राजिलियन स्टार एलेक्स बाल्डेको उत्कृष्ट क्रसमा राफिन्हाले गोल गरेका थिए ।
त्यसपछि, विश्वकप अघि राति कार्ड पाएपछि तीन खेल निलम्बनमा रहेर फर्किएका रोबर्ट लेवानडोवस्कीले ८० औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रत दोब्बर पारेका थिए । उनले रोनाल्ड अराउजोको पासमा गोल गर्न सफल भएका थिए । लेवानडोवस्कीको जारी लिगमा यो १४ औँ गोल हो ।
खेलको ८५ औं मिनेटमा बार्सिलोनाका रक्षक जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा पुगेको थियो । तर, त्यसपछि कुनै गोल नहुँदा बार्सिलोना जित निकाल्न सफल भएको हो । खेलको इन्जुरी समयमा विलियम कार्भाल्होले रातो कार्ड पाएपछि रियाल बेटिस १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बार्सिलोना १९ खेलबाट ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ८ अंकले अघि रहेको छ । रियाल मड्रिडले एक खेल कम खेलेको छ । रियाल मड्रिडले बिहीबार राति भ्यालेन्सियाविरुद्ध खेल्दै छ । पराजित रियाल बेटिस भने ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।