काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले ३-१ गोल अन्तरले मोन्टपेलियरलाई पराजित गरेको हो ।
पिएसजीको जितमा फावियन रुइज, लियोनेल मेस्सी र वारेन जाइरी एमेरीले एक/एक गोल गरे । घरेलु टोली मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काएका थिए ।
मोन्टपेलियरविरुद्ध सहज जित निकालेको खेलमा केलियन एमबाप्पे दुई पटक पेनाल्टीमा गोल गर्न चुकेका थिए । यस्तै खुट्टामा चोट बोक्दै एमबाप्पे खेलको २१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । दोस्रो हाफमा भने पीएसजीले तीन गोल गर्यो ।
पीएसजीले खेलको नवौँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । एमबाप्पेको पहिलो प्रहार मोन्टपेलियरका गोलकिपरले बचाए । तर, रेफ्रीले एमबाप्पेलाई पुन: पेनाल्टी हान्ने अवसर दियो । एमबाप्पेको दोस्रो पटकको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा आएको बललाई एमबाप्पेले फेरि पोस्ट बाहिर प्रहार गरेका थिए ।
पाहुना टोली पीएसजीले खेलको ३५ औँ मिनेटमा किकि कोयाटेले गोल गरेका थिए । तर, भिडियो सहायक रेफ्री (भीएआर)ले उक्त गोललाई अफसाइड घोषित गरिदिएको थियो । ५२ औँ मिनेटमा आच्रम हाकिमीले गरेको गोललाई पनि भीएआरले अफसाइड घोषित गरिदिएको थियो ।
अन्ततः खेलको ५५ औँ मिनेटमा ह्युगो इटिकेको पासमा फाबियन रुइजको गोलबाट पीएसजीले सुरुआती अग्रता लिन सफल भयो । खेलको ७२ औं मिनेटमा फावियन रुइजको पासमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
खेलको ८९ औँ मिनेटमा स्टेफी माभिडिडिको पासमा एर्नाअड नोर्दिनको गोलबाट मोन्टपेलियरले पुनरागमनको प्रयास गरेको थियो । तर, इन्ज्युरी समयमा हाकिमीको पासमा वारेन जाइरी एमेरीले गोल गर्दै पीएसजीलाई ३-१ को सहज जित दिलाएका थिए ।
जितसँगै पीएसजी २१ खेलबाट ५१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पीएसजी दोस्रो स्थानको मार्सेभन्दा पाँच अंकले माथि छ । मार्सेले मंगलबार राति नान्टेसलाई २–० गोल अन्तरले हराएको थियो । पराजित मोन्टपेलियर २० अंकका साथ १४ औँ स्थानमा रहेको छ ।