काठमाडौं । एट्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै रियल मड्रिड अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
निर्धारित समयमा एट्लेटिकोका अल्भारो मोराटा र रियल मड्रिडका रोड्रिगोले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको हो । अतिरिक्त समयमा रियलका लागि कप्तान करिम बेन्जमा र भिनिसियर जुनियरले एक एक गोल थपेका थिए ।
पाहुना टोली एट्लेटिकोले खेलको १९ औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट सुरुआती अग्रता लिएको थियो । तर, खेलको ७९ औँ मिनेटमा लुका मोड्रिचको पासमा रोड्रिगोले बराबरी गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको ९९ औं मिनेटमा स्टेफन साभिचले दोस्रो पहेँलो कार्डको सामना गरेपछि एट्लेटिको बाँकी समय १० खेलाडीमा सिमित भएको थियो । साभिचले ९६ औँ मिनेटमा पहिलोपटक पहेँलो कार्डको सामना गरेका थिए ।
खेलको १०४ औं मिनेटमा कप्तान करिम बेन्जमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि अतिरिक्त समयको इन्जुरी समयमा भिनिसियर जुनियरले गोल गर्दै रियललाई ३–१ को जित दिलाएका थिए ।
स्पेनिस कोपा डेल रे कै अर्को क्वाटरफाइनल खेलमा भ्यालेन्सियालाई ३–१ ले हराउँदै एट्लेटिक बिल्बाओ पनि सेमिफाइनलमा प्रवेश गरेको छ । एट्लेटिक विल्बाओलाई विजयी गराउन इकर मुनियन, निको विलियम्स र मिकेल भेस्गाले एक/एक गोल गरेका थिए । भ्यालेन्सियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
यसअघि, बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोनाले र सेभियालाई २–१ ले हराउँदै ओसासुनाले स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलको खेल तालिका आगामी सोमबार निकालिनेछ ।