काठमाडौं । ओस्मान डेम्बेलेकाे निर्णायक गोलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो ।
आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फ्रेन्च खेलाडी ओस्मान डेम्बेलेले निर्णायक गोल गरे । खेलको ५२ औं मिनेटमा जुल्स कुन्डेको पासमा डेम्बेलेले गरेको एकमात्र गोलमा बार्सिलोना विजयी हुन सफल भयो ।
त्यसअघि, खेलको ४० औं मिनेटमा सर्जियो बुस्क्वेट्समाथि खराब ट्याकल गरेपछि ब्रेइस मेन्डेज सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल सोसिडाड १० खेलाडीमा समेटिन पुगेको थियो ।
यस सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने २०२३ को सुरुमै रियल मड्रिडलाई हराएर स्पानिस सुपर कपको उपाधि जितिसकेको छ । अब कोपा डेल रेमा पनि बार्सिलोना अन्तिम चारमा पुगेको छ ।
‘कोपा डेल रे’ कै अर्को खेलमा सेभियालाई २–१ ले हराउँदै ओसासुना पनि सेमिफाइनलमा पुगेको छ । ओसासुनाका इजिक्वेल एभिला र विंगर अब्डे एज्जालजोउलीले एक एक गोल गरेका थिए । सेभियाका युसुफ एन न्यास्रीले एक गोल फर्काएका थिए ।
घरेलु मैदानमा खेलको ७१औं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । युसुफ एन न्यास्रीले इन्जुरी टाइममा गोल गर्दै सेभियालाई बराबरीमा पुर्याएका थिए । तर, अतिरिक्त समयको ९९ औं मिनेटमा एज्जालजोउलीले निर्णायक गोल गर्दै ओसासुनालाई अन्तिम चारमा पुर्याए ।
‘कोपा डेल रे’ प्रतियोगिताका अन्य दुई क्वार्टरफाइनल खेलहरुमा बिहबिार राति रियल मड्रिड र एथ्लेटिको मड्रिड तथा एथ्लेटिक बिल्बाओ र भ्यालेन्सिया भिड्नेछन् ।