काठमाडौं । मैत्रीपूर्ण क्लब फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११ लाई हराएको छ । साउदी अरबको किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले रियाद–११ लाई ५-४ गोल अन्तरले हराएको हो ।
पिएसजीको जितमा लिओनल मेस्सी, केलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक/एक गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई, ह्युन सो जाङ र एन्डरसन टालिस्काले एक/एक गोल फर्काएका थिए ।
खेलको तेस्रो मिनेटमा नेइमारले निकालेको पासमा मेस्सीले गोल गर्दै पिएएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा पिएसजीका गोलकिपर किलोर नाभासले रोनाल्डोलाई १८ यार्ड बक्सभित्र फउल गरेपछि रियादले पेनाल्टी पायो । ३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै रियादलाई १-१ गोलको बराबरीमा ल्याए ।
जुवान बर्नाटले खेलको ३९ औं मिनेटमा रातोकार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । ४३ औँ मिनेटमा केलियन एम्बाप्पेको क्रसमा कप्तान मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुन: २-१ को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयम रोनाल्डोले नै गोल गर्दै रियाद–११ लाई २–२ को बराबरीमा फर्काएका थिए ।
५४ औँ मिनेटमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई पुन: ३–२ को अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि नै ह्युन सो जाङले गोल गर्दै रियादलाई ३-३ को बराबरीमा फर्काएका थिए । ६०औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४–३ को अग्रतामा राखेका थिए ।
यस्तै, ७८ औँ मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दै पीएसजीको अग्रतालाई ५–३ को अवस्थामा पुर्याएक थिए । त्यसपछि खेलको इन्जुरी समयमा टलिस्काले गोल गरेपनि घरेलु टोली ५-४ ले पराजित भयो । मैत्रीपूर्ण खेलको उद्घाटन समारोहमा भारतीय अभिनेता अमिताभ बच्चनले खेलाडीलाई स्वागत गरेका थिए । खेलमा रोनाल्डो ‘म्यान अफ द म्याच’ घोषित भए ।