काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी हुँदा म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएका खेलमा आर्सनलले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेका हो भने सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आर्सनलको लागि बुकायो साका, मार्टिन ओडेगागार्ड, एडवार्ड एनकेटीह र ग्गाब्रियल मार्टिनेलीले एक/एक गोल गरे । ब्राइटनका काओरो मितुमा र इभाँ फेर्गुसनले एक/एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ३९ औं मिनेटमा ओडेगागार्डले गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाए । ४७ औं मिनेटमा एनकेटीहले गोल गर्दै आर्सनलको अग्रता ३–० को बनाए । ६५ औं मिनेटमा ब्राइटनका मितुमाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । ७१ औं मिनेटमा मार्टिनेलीले गोल थप्दै आर्सनललाई ४–१ को अग्रता दिलाए ।
त्यसपछि ७७ औं मिनेटमा ब्राइटनका फेर्गुसनले गोल गरेपनि आर्सनल ४–२ ले विजयी भयो । जितसँगै आर्सनलले ४३ अंकसहित शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ ।पराजित ब्राइटन २४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
लिगको अर्को खेलमा उपाधि दावेदार म्यानचेस्टर सिटीलाई भने एभर्टनले १–१ गोलको बराबरीमा रोकेको छ । खेलमा घरेलु टोली अर्लिङ ब्रट हाल्याण्डले पहिलो गोल गरेपनि एभर्टनका डेमाराई ग्रेले बराबरी गोल गरेका हुन् ।
खेलको २४ औं मिनेटमा रियाद महारेजको पासमा हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । जारी सिजन प्रिमियर लिगमा हालान्डको यो २१ औँ गोल हो । तर, ६४ औं मिनेटमा ग्रेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै १६ खेलमा ३६ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको एभर्टन १७ खेलमा १५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
गएराति नै अन्य खेलमा फुलहमले साउथह्याम्पटनलाई २–१ ले हराउँदै सातौँ स्थानमा उक्लिएको छ । साउथह्याम्पटन १२ अंकका साथ पुछारमा छ । फुलहमले २५ अंक जोडेको छ । त्यस्तै, क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हरायो । क्रिष्टल प्यालेस २२ अंकका साथ ११ औँ स्थानमा छ भने बर्नमाउथ १६ अंकका साथ १५ औँ स्थानमा छ ।