काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले विजयी सुरुवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो ।
काठमाडौंले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै आरिफ शेखले २०, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ र सिद्धान्त लोहनीले १० रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । काठमाडौका लागि अभिनास बोहोराले ३ विकेट तथा बसिर अहमदले २ विकेट लिए । यस्तै अनिल खरेलले एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनायो । काठमाडौंका लागि अफगानिस्तानका युवा अलराउन्डर अजमतुल्लाह ओमरजाइले ८५ रनको विस्फोटक पारि खेले । उनले ४२ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै नटआउट रहेका थिए ।
काठमाडौंले ४८ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर, ओमरजाइ र सुनम गौतमले छैटौं विकेटका लागि अविजित ११४ रनको साझेदारी गर्दै पाेखरालाई बलियो लक्ष्य दिन सफल भए । सुनमले अविजित २७, एलेक्स ब्लेकले २१ र विरनदिप सिंहले १० रन जोडे ।
कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए भने बाँकी ब्याटरले पनि दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पोखराका लागि प्रतिश जिशी, जाहीर खानले समान दुई/दुई विकेट लिए । यस्तै मौसम ढकालले एक विकेट हात पारे । आजको दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । युसैगरी लिगको प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले ४० हजार र इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।