काठमाडौं । कतारमा सम्पन्न २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको छ । लुसैल रंगशालामा आइतबार राति भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने २ गोल खान पुग्यो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक/एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो ।
अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि आर्लियन चुवामेनीको प्रहार बाहिरिएको थियो । किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाएका थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भएका थिए ।
त्यसअघि, खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रान्सका डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए । खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको थियो ।
खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले फ्रान्सका रान्डल कोलो मुअनीलाई फाउल गरेपछि फ्रान्सले पनाल्टी पाएको थियो जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् । त्यसको १ मिनेटमा नै एम्बापेले व्यक्तिगत दोस्रो उत्कृष्ट गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
अतिरिक्त समयको १०९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर, ११८ औँ मिनेटमा पेनाल्टीमा एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रान्सलाई पुनः ३-३ गोलको बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाका गोन्जालो मोन्सियलको पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाको यो तेश्रो उपाधि हो । अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।
यता उपाधि रक्षा गर्ने होडमा केलियन एमबाप्पेले ह्याट्रिक गरे पनि साविक विजेता फ्रान्सले भने तेस्रो पटक विश्वकपको उपाधि उचाल्ने सुवर्ण मौका गुमायो । फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । २०१८ मा क्रोएसियालाई हराउँदै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको थियो ।
कतार विश्वकपमा फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगिताको ७ खेलमा ८ गोल दुई असिस्टका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी रहे । उनले प्रतियोगिताको ७ खेलमा ७ गोलका साथ ३ असिस्ट पनि दिएका थिए ।