काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा आज आइतबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित आज अर्जेन्टिना र साविक विजेता फ्रान्स प्रतिस्पर्धा गर्दैछन् । खेल लुसेल आइकोनिक रगंशालामा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।
विश्व फुटबलका दुई सुपरस्टारबीचको भिडन्त हुने भएकाले पनि विश्वकप फुटबलको फाइनलमा रोमाञ्चकता थपिएको छ । के दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न सफल होलान् ? कि युरोपियन राष्ट्र फ्रान्सका २३ वर्षीय किलिएन एमबाप्पेले लगातार दोस्रो पटक विश्वकप जित्लान् ।
उनीहरू दुवै जारी कतार विश्वकपको गोल्डेन बुटका दाबेदार हुन् । एम्बापेले पाँच खेलमा पाँच गोल गर्नुका साथै दुई असिस्ट पनि गरेका छन् । मेस्सीले पाँच खेलमा पाँच गोल र तीन असिस्ट गरेका छन् । यस्तै, ओलिभर जेरुड र जुलियन अल्भारेज पनि दाबेदारको सूचीमा रहेका छन् । उनीहरु दुबैले समान ४ गोल गरेका छन् ।
३५ वर्षीय मेस्सीले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीलाई दिइने बालोन डी’अर अवार्ड कीर्तिमानी सातपटक जितिसकेका छन् । तर, अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो विश्वकपको उपाधि अहिलेसम्म जित्न सकेका छैनन् । अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएमा मेस्सी सबैभन्दा सफल खेलाडी बन्नेछन् ।
दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । सन् १९९८ र २०१८ मा विश्वविजेता बनेको फ्रान्स यसपटक उपाधि रक्षा गर्ने जोडमा छ । सन् १९७८ र १९८६ मा विश्वविजेता बनेको अर्जेन्टिना यसपटक उपाधि रक्षा गर्ने एक खेल मात्र टाढा छ ।
फ्रान्स र अर्जेन्टिनाबीच यसअघि १२ पटक प्रतिस्पर्धा भएको छ, जहाँ अर्जेन्टिना फ्रान्समाथि हाबी भएको छ । अर्जेन्टिनाले १२ मध्ये ६ खेलमा जित निकाल्दा तीन खेलमा हार बेहोरेको छ । बाँकी तीन खेल भने बराबरीमा सकिएको छ । फिफा विश्वकपमा भने यी दुई राष्ट्रले तीन पटक एकार्काको सामना गर्दा अर्जेन्टिनाले दुई र फ्रान्सले एकपटक जित हात पारेको छ ।
जारी विश्वकपमा अर्जेन्टिनाले समूहको पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यको उसले दोस्रो खेलमा पोल्याण्ड र तेस्रो खेलमा मेक्सिकोलाई समान २–० गोल अन्तरले हरायो । अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले अन्तिम ८ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यसपछि सेमिफाइनलमा क्रोएसियालाई ३–० हराउँदै अर्जेन्टिनाले ८ वर्षपछि फाइनलको यात्रा तय गर्न सफल भयो ।
त्यस्तै, फ्रान्सले समूहको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराउँदै उत्कृष्ट सुरुवात गर्यो । दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको उसले समूह चरणको अन्तिम खेलमा भने ट्युनिसियासँग १–० को अप्रत्यासित हारको सामना गर्न पुग्यो । अन्तिम १६ मा पोल्यान्डमाथि ३–१ को जित त्यसपछि क्वार्टरफाइनलमा इंल्याण्डलाई २–१ ले हराउँदै र सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले फाइनलमा स्थान बनाउन सफल भयो ।