काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । खालिफा अन्तराष्ट्रिय रगंशालामा शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले एक/एक गोल गरे । मोरक्कोका अक्रफ दारीले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
खेलको सातौँ मिनेटमा ओभ्रो माजेरको क्रसलाई इभान पेरिसिचले मिलाइदिएको पासमा भार्डीओलले हेडरगोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । क्रोएसियाको यो अग्रता धेरैबेर टिक्न पाएन ।
यसको अर्को दुई मिनेटभित्रै अक्रफ दारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा फर्काएका थिए । बक्सबाहिरबाट आएको फ्रिकिक बल क्रोएसिका डिफेन्डर ओभ्रो माजेरले क्लियर गर्न नसक्दा दारीले हेडर गोल गरेका थिए ।
तर, पहिलो हाफमा लागि तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै पुन: क्रोएसियालाई २-१ अग्रता दिलाएका थिए । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भयो ।
जारी २२ औँ संस्करणको विश्वकपमा आश्चर्यजनक सफलता पाएको अफ्रिकन राष्ट्र मोरक्कोले लगातार दुई हारसँगै आफ्नो कतार विश्वकप अन्त्य गरेको छ । साविक उपविजेता क्रोएसियाले सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर कतार विश्वकपमा तेस्रो हुँदै विश्व फुटबलमा एलिट देशका रुपमा आफूलाई स्थापित गरेको छ ।
कतार विश्वकपको फाइनल प्रतिस्पर्धा भने लुसैल रंगशालामा आइतबार बेलुकि ८:४५ बजे दुई पटकका विश्व विजेता अर्जेन्टिना र फ्रान्सविच हुँदैछ । साविक विजेता फ्रान्स ५० वर्ष पछिको इतिहास रच्न चाहन्छ भने लिओनल मेस्सी आफ्नो कप्तानीमा पहिलो उपाधि दिलाउदै अर्जेन्टिनालाइ ३ पटकको विश्व विजेता बनाउन चाहन्छन् ।