काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति सम्पन्न खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो ।
र्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीले एक गोलसंगै दुई असिस्ट गरेका थिए । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको थियो ।
यस खेलसंगै लियोनल मेस्सीले यसअघि जर्मनीका लोथर माथाउसको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसंग बराबरी गरे । यसबाहेक मेस्सीले विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । फिफा विश्वकपमा ११ गोल पुर्याएका मेस्सीले यसअघि बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।
खेलको ३४ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । क्रोएसियाका गोलकिपर लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए । अल्भारेजले आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लै बल अघि बढाउदै क्रोएसियाका रक्षकलाई कटाउदै उत्कृष्ट गोल गरेका थिए ।
त्यसपछि, खेलको ६९ औं मिनेटमा कप्तान मेस्सीको शानदार असिस्टमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । यस जितसँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । हारसँगै साविक उपविजेता क्रोएसियाको कतार विश्वकप यात्रा भने टुंगिएको छ ।
फिफा विश्वकपको इतिहासमा अर्जेन्टिनाले सेमिफाइनल खेलमा हार बेहोरेको छैन । अर्जेन्टिनाले १९८६ यता विश्वकप उपाधि जित्न सकेको छैन । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलसम्म पुगेको अर्जेन्टिना जर्मनीसँग १–० गोलले पराजित भएको थियो । यस पटक उत्कृष्टलयमा रहेको अर्जेन्टिनाले विश्वकप उपाधि जित्ने सम्भावना बढेको छ ।
अब अर्जेन्टिनाले विश्वकप उपाधिका लागि फ्रान्स र मोरक्कोबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । बुधवार हुने दोस्रो सेमिफाइनलमा ‘जायन्ट किलर’ मोरक्कोले साविक विजेता फ्रान्ससामु चुनौती प्रस्तुत गर्दै छ । अल बायत रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ ।