काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज मंगलबार पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । दोहाको लुसैल रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ ।
दुई पटकको उपाधि विजेता अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा अन्तिम विश्वकप हुने सम्भावना रहेकोले पूरा टिम नै अहिले विश्वकप जित्नका लागि एकजुट हुनेछ । मिडफिल्डको मास्टर तथा कप्तान लुका मोड्रिच प्रेरित क्रोएसिया अर्जेन्टिनालाई स्तब्ध पार्दै लगातार दोस्रोपटक फाइनल पुग्न चाहान्छ ।
३६ वर्षपछि विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना सेमिफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा माथि रहेको टिम हो । सातपटकको बालोन डि ओर जितेका अर्जेन्टिनाका लागि मेस्सी नै मुख्य हतियार हुनेछन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलसम्म पुगेको अर्जेन्टिना जर्मनीसँग १–० गोलले पराजित भएको थियो ।
कप्तान मेस्सीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, रोड्रिगो डि पउल, मार्क एलिस्टर, इन्जो फर्नान्डेस, लियान्द्रो पारेडेस, नाहुइल मोलिना, निकोलस ओटा मेन्डीले साथ दिनेछन् । गोलरक्षक इमिलियानो मार्टिनेजले यस विश्वकपमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।
कतार विश्वकपमा साउदीसँग २-१ ले पराजित भएपछि अर्जेन्टिनाले पुनरागमन गर्दै मेक्सिको र पोल्याण्डलाई समान २-० ले पराजित गरेको थियो । अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काउने क्रोएसिया यस विश्वकपमा पेनाल्टी किंङको रुपमा देखा परेको छ । लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल पुग्दा क्रोएसियाले नकआउट चरणमा दुई खेल पेनाल्टी सुटआउटमै जितेको थियो । गोलिकपर लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
मिडफिल्ड मास्टर तथा कप्तान मोड्रिच खेल परिवर्तन गर्ने क्षमता राख्दछन् । उनलाई माटियो कोभासिच, इभान पेरिसिच, एन्डरेज क्रामारिच, मार्सेलो ब्रोजोभिच, सोसा, लोभरेन, जिभारडिओ र जुरानोभिचले साथ दिनेछन् । आक्रमणमा केही कमजोर देखिएको क्रोएसियाको सबैभन्दा बलियो पक्ष टिम गेमसँगै मिडफिल्ड, डिफेन्स र गोलरक्षक नै हो ।
अर्जेन्टिना र क्रोएसिया हालसम्म ५ पटक भिडेका छन् । दुवै टोलीले समान २ जित र १ बराबरीको नतिजा छ । तीन खेल मैत्रीपूर्ण रहँदा दुई खेल विश्वकपमा छ । सन् १९९८ को विश्वकपमा क्रोएसियामाथि अर्जेन्टिनाले १–० को जित निकालेको थियो । पछिल्लोपटक २०१८ को विश्वकपमा समूह चरणमा अर्जेन्टिनामाथि क्रोएसियाले ३–० को सानदार जित निकालेको थियो । क्रोएसिया सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा अर्जेन्टिना उक्त हारको बदला लिने र फाइनल पुग्ने योजनामा हुनेछन् ।