काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायत रंगशालामा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।
साविक विजेता फ्रान्सको जितमा औरेलिएन चुआमेनी र ओलिभर जेरुडले एक/एक गोल गरेका थिए । यस्तै इङ्ल्याण्डका लागि पेनाल्टीमार्फत कप्तान ह्यारी केनले गोल गरे भने अर्को पनि पेनाल्टीको अवसर पाउँदा उनले सदुपयोग गर्न चुक्दा विश्वकपको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो ।
यो खेलसँगै कतार विश्वकपको अन्तिम चार टोलीको टुंगो लागेको छ । फ्रान्स, मोरक्को, अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्यान्ड भने कतार विश्वकपबाट बाहिरिएको छ ।
खेलको १७ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानको पासमा औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत सुरुआती अग्रता दिलाएका थिए । यसैगरी खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
फ्रान्सका चुवामेनीले बुकायो साकालाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । खेलको ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः २-१ गोलको अग्रता बनायो ।
त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो । फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले दोस्रो पटक पेनाल्टी पाएको थियो ।
त्यसपछि दुबै पक्षबाट थप गोल नभएपछि खेल २–१ मा अन्त्य हुँदै फ्रान्स सेमिफाइनलमा पुग्यो । अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेको अफ्रिकी देश मोरोक्कोसँग खेल्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।