काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । आजको यी दुई खेलसँगै कतार विश्वकपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ ।
आजको पहिलो खेलमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल अल थुमामा रंगशालामा नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा मोरक्को अपराजित टिम मध्ये एक हो । बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूहबाट विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले स्तब्ध पारेको थियो ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन । पोर्चुगल अहिलेसम्म दुई पटक विश्वकपको सेमिफाइनल पुगेको छ जसमा सन् १९६६ मा तेस्रो हुनु अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।
समूह चरणको खेलमा घानालाई ३-२ र उरुग्वेलाई २-० ले पराजित गरेको पोर्चुगल दक्षिण कोरियासँग २-१ ले पराजित भएको थियो । तर अन्तिम १६ मा स्वीजरल्याण्डलाई ६-१ को फराकिलो अन्तरले हराउँदै पोर्चुगलले आफ्नो क्षमता देखाइसकेको छ ।
जसमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमै राखेपनि युवा फरवार्ड गोन्सालो रामोसले पहिलो रोजाइमा खेल्दै जारी विश्वकपकै पहिलो ह्याट्रिक गरेका थिए । मोरक्को र पोर्चुगलबीच अहिलेसम्म दुई खेलमा प्रतिस्पर्धा भएको छ जसमा दुबैले एक एक खेल जितेका छन् ।
यस्तै, आजको दोस्रो तथा अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल बायत रंगशालामा नेपाली समयानुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ ।
जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । पहिलो खेलमा इरानलाई ६-२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो भने तेस्रो खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्याण्ड समूह विजेता बन्दै अघि बढेको इंग्ल्याण्डले अन्तिम १६ मा सेनेगललाई ३-० ले हराएर विपक्षीलाई सजग गराएको छ ।
ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डका लागि यस पटक मार्कुस रासफोर्ड र जुड बेलिङ्घमले उत्कृष्ट प्रदर्शान गरिरहेका छन् । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन ।
साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । समूह चरणको खेलमा अष्ट्रेलियालाई ४-१ ले र दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो । अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ ।
इंग्ल्यान्ड र फ्रान्सबीच हालसम्म ३१ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १७ खेल जितेको छ भने ९ खेलमा फ्रान्सले जित निकाल्दा ५ खेल बराबरीमा सकिएको छ । फ्रान्सको अट्रयाक उत्कृष्ट छ भने किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् ।
क्वाटरफाइनलमा दुई पूर्व विजेताबीच हुन लागेको यो नै एक मात्र खेल हो । त्यसैले पनि यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।