काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । लुसैल रंगशालामा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा अर्जेन्टिना र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । अर्जेन्टिना लागि पेनाल्टी प्रहार गरेका कप्तान लियोनल मेस्सी, लियो पाराडेज, गोन्जालो मोन्सियल र लौटारो मार्टिनेजले गोल गरेका थिए । अर्जेन्टिनाका लागि चौथो नम्बरमा पेनाल्टीका लागि आएका एन्जो फर्नान्डेजको प्रहार भने बाहिरिएको थियो ।
नेदरल्यान्ड्सबाट पहिलो प्रहारका लागि आएका कप्तान भर्जिल भान डाइग र दोस्रो प्रहारका लागि आएका स्टेभन बर्घुइसको प्रहार अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले रोकेका थिए । नेदरल्यान्ड्सका टेउन कुपमेनर्स, वोउट विघ्रोस्ट र लुक डी यङले गोल गरेका थिए ।
त्यसअघि खेलको ३५ औँ मिनेटमा लियोनल मेस्सीको पासमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलको ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई दोब्बर पारे ।
नेदरल्यान्ड्सका डेम्बेल डम्फ्राइजले पेनाल्टी क्षेत्रभित्र मार्कोस अकुनालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसमा कप्तान मेस्सीले कुनै गल्ती गरेनन् । विश्वकपमा यस दशौँ गोल गरेसँगै मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन् ।
खेलको ८३ औँ मिनेटमा वोउट विघ्रोस्टले गोल गर्दै नेदरल्यान्ड्सललाई २–१ मा फर्काएका थिए । यस्तै, इन्जुरी टाइमको अन्तिम मिनेटमा कुपमाइनर्सको चलाखीपूर्ण फ्रिकिकमा विघ्रोस्टले नै गोल गरेपछि नेदरल्यान्ड्सले २-२ गोलको बराबरी निकालेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
निक्कै तनावपूर्ण बनेको खेलभर १६ वटा पहेँलो कार्ड देखाइएको थियो । अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा एन्जो फर्नान्डेजको प्रहार पोस्टमा लागेर बाहिरिंदा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो ।
जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनलमा साविक उपविजेता क्रोएसियासँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसियाले अन्तिम चारमा स्थान पक्का गरेको थियो । नेदरल्यान्ड्स भने कतार विश्वकपबाट बाहिरिएको छ ।