काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । आजको यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ ।
आजको पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल एजुकेसन सिटी रंगशालामा नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । मोरोक्को समूह ‘एफ’ को विजेताको रूपमा र स्पेन समूह ‘ई’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनलमा आएको हो ।
मोरक्कोले समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी त्यसपछि बेल्जियम र क्यानडालाई समान २–१ गोल अन्तरले पराजित गरेर समूह विजेता बन्दै स्पेनसँगको भेट पक्का गरेको हो ।
स्पेनले समूह चरणको पहिलो खेलमा काेस्टा रिकालाई ७–० ले पराजित गर्दै दाेस्राे खेलमा जर्मनीसँग १–१ गाेलकाे बराबरी र अन्तिम खेलमा जापानसँग २–१ पराजित भएकाे थियाे ।
यस्तै, आजको दोस्रो खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल लुसैल रंगशालामा नेपाली समयानुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेताको रूपमा र स्विजरल्यान्ड समूह ‘जी’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनलमा आएको हो ।
पाेर्चुगल समूह चरणमा घानालाई ३–२ ले र उरुग्वेलाई २–० गोल अन्तरले हराउँदा अन्तिम खेलमा दक्षिण काेरियासँग २–१ ले पराजित भएकाे थियाे । यता स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० र सर्वियालाई ३–२ गोल अन्तरले हराउँदा अन्तिम खेलमा ब्राजिलसँग १–० ले पराजित भएकाे थयाे ।
पोर्चुगल र स्विट्जरल्यान्ड आजको खेलमा जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । कतार विश्वकपमा नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।