काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो ।
फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे भने ओलिभर जिरूडले एक गोल गरेका थिए । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए । अधिकांश समय बलमा पकड बनाएको फ्रान्सका लागि एमबाप्पेको पासमा जिरूडले खेलको ४४ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
यो गोलसँगै जिरूडले फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । जिरूडको यो ५२ औँ अन्तर्राष्ट्रिय गोल हो । यसअघि थिएरी हेनरीले ५१ गोल गर्दै फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
खेलको ७४ औं मिनेटमा ओसुमाने डेम्बेलेको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा मार्कस थुरामको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए ।
कतार विश्वकपमा 'गोल्डेन बूट' को दौडमा सबैभन्दा अघि रहेका एमबाप्पेको यो पाँचौँ गोल हो । यस्तै उनले फिफा विश्वकप फुटबलमा ९ गोल गरिसकेका छन् । २३ वर्षीय एमबाप्पेले २०१८ मा रुसमा भएको विश्वकपमा डेब्यू गर्दै ४ गोल गरेका थिए ।
पोल्याण्डले इन्जुरी टाइमको चौथो मिनेटमा ह्यान्डबल भएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा पेनाल्टी पाएको थियो । सुरुमा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले लेवान्डोस्कीको प्रहार रोकेका थिए ।
तर, पेनाल्टी प्रहार गर्नुअघि नै गोलरक्षक लोरिसले लाइन छाडेको भन्दै रेफ्रीले पुनः पेनाल्टी प्रहारको अवसर दिए । जसमा लेवान्डोस्कीले गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो । फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ । पोल्याण्ड भने कतार विश्वकपबाट बाहिरिएको छ ।