काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्वीजरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्वीजरल्याण्डको जितमा जेहेर्दान साकिरी, ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले एक/एक गोल गरे । सर्बियाका एलेक्जेनडर मितरोभिक र दुसान भोल्होभिकले एक/एक गरेपनि टिमको हार टार्न सकेनन् ।
खेलको २० औं मिनेटमा स्ट्राइकर साकिरीको गोलबाट स्वीजरल्याण्डलले सुरुआती अग्रता बनाएको थियो । सर्वियाका एलेक्जेनडरले २६ औं मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
साथै, खेलको ३५ औं मिनेटमा सर्बियाका लागि दुसानले गोल गर्दै २–१ गोलअन्तरले सर्बियालाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा इम्बोलोले गोल गर्दै स्वीजरल्याण्डलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ४८ औं मिनेटमा रिमोले गोल गर्दै स्वीजरल्याण्डलाई ३-२ को जित दिलाएका थिए । नकआउट चरणमा स्थान पक्का गर्न जितको विकल्प नभएको सर्वियाका लागि दोस्रो हाफमा पुनरागमनको अवसर थियो । बाँकी समयमा दुवै टिमले गोलका अवसर पाएका थिए, तर गोल हुन सकेन ।
यस जितसँगै ३ खेलमा ६ अंक जोडेर स्वीजरल्याण्ड समूह 'जी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । सर्बिया ३ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।
यसै समूहको अर्को खेलमा उपाधिका लागि बलियो दाबेदार मानिएको ब्राजिल क्यामरुनसँग १–० ले पराजित भएको छ । ब्राजिल र क्यामरुनबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो ।
अधिकांश समय ब्राजिलले बल आफ्नो नियन्त्रणमा राखे पनि क्यामरुनका कप्तान भिसेन्ट बुबकरले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितका बाबजुद समूह 'जी'को ३ खेलमा ४ अंक जोडेर क्यामरुन प्रतियोगिताबाट बाहिरिएको छ । हारको बाबजुत तीन खेलबाट ६ अंक जोडेको ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।